एसियाड क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन, १७ बलमै हासिल गर्‍यो लक्ष्य

कोरियाको इन्चोनमा भइरहेको १७ औँ एसियाडमा नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई ९ विकेटले जितेको छ। नेपालले लक्षित २१ रन एक विकेटको क्षतिमा १७ बलमै हासिल गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले कमजोर सुरुआत गर्दै २० रन मात्र बनाउन सक्यो।

१३.२ बल मात्र खेलेको कुवेतले सबै विकेट गुमाएर मात्र २० रन बनाएको हो। नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले ३-३ तथा सागर पुनले २ विकेट लिए।

कुवेतका लागि बैदाक तेरक र बास्ताकी फहादले ४-४ रन बनाएका थिए। कुवेतका ५ खेलाडी शून्यमा आउट भए।

ड्रागन एअरको विमान बिग्रिएर काठमाडौंमा थन्किँदा खेलाडीहरुले दुःख पाउँदै अर्को जहाजमा बल्ल आजै बिहान मात्र कोरिया पुगेका थिए।

नेपालस्थित खेल सम्बन्धित निकायले चासो नदिँदा खेलाडीहरु समयमै आउन नपाएका हुन्। थकित मुद्रामा खेलाडीहरुले कुवेत कमजोर टिम भएकाले जित्ने दाबी गरेका थिए।

हालै बंगलादेशमा सम्पन्न विश्वकपमा समेत सहभागी जनाएको नेपाललाई पदकको दावेदार टिमका रुपमा हेरिएको छ।