आशाssssss -डिल्ली राम अंमाई

आशाले पालुवा हाल्दै,
हावासँगै फक्रँदै ,
जिबनद्विप भित्र त्यो सानो,
भरोसा र प्रेरणाको,
नयाँ र ताजा मुना हुर्कदै थियो ।
समयसँग पौँठेजोरी खेल्दै,
अमरताको सिढी चढ्दा चढ्दै,
सुनौलो कल्पनासँगै,
बिरानो माटोमा खेल्दै थियो।
आफ्नो श्वास सँगै
आवेगबाट हुत्तिँदै
हात्ती झैँ आफ्नो ताल,
अनी अस्तित्व हुर्किएको ठाउँमा,
लयबध्द कबिता बन्दै,
क्रमश:क्रमश:बग्दै थियो ।
अस्तित्व र सत्वको समाधिमा,
आशा समुन्द्रको छाल् झैँ
धुन दिँदै युगबोधको,
गड्गडाहत आवाज लिएर,
बिस्तारै बिस्तारै चढ्दै थियो ।
उतार चढावका तरङ्गसँगै,
दक्षिणबाट उकालोमा,
बिनाबिराम लयबध्द,
आस्मान तर्फ बढ्दै थियो ।
विश्व आशाको अंसियार हुन,
केही फाँक भटमास् सातु,
पर्वासी गाउँका आफन्तहरु बिच,
सकेजती हाँसेर बाँड्दै थियो ।
मागेन अरुसँग त्यती मनग्य,
साँचेजती सबैलाई दिँदै थियो ।
आज बोधीसत्व चक्र,
बिधिको गहनता भित्र,
अलापिएर पनि,
अक्षर बनाउदै इतिहाँसको,
अनुजहरुको बिचबाट
हरे शिव !
एकान्त बासको लागि बिदा लियो