आसेन्ता मेलामा कुनै अनिमियता गरेको छैन- अर्जुन कुमार श्रेष्ठ

चारदिशा सम्वाददाता।

२०१३ मा वेल्जियमको गेन्टमा आसेन्ता मेला आयोजना गर्दा त्यसको पारदर्शिताका विषयमा विविध प्रश्न उठ्दै आइरहेका छन्। मेलामा नेपाली उत्पादन विक्रि तथा प्रदर्शनी प्रयोजनका लागि आएका भनिएका कतिपय नेपालीहरु मेलामा सहभागी नै नभई यूरोपका अन्य मुलुकहरुमा गएका र उनीहरुलाई मेलामा सहभागि गराउँदा  व्यापक आर्थिक अतियमितता भएको आशंका सहितको धारणा सन्चार माध्यम र सामाजिक सन्जालमा छाइरहेका छन्।

मेलामा आएका सहभागीहरुले चर्को रकम तिरेको सन्वन्धमा चारदिशामा अडियो कुराकानी सार्वजिक भएपछि जनमानसमा व्यापक चासो र चर्चा चुलिएको अवस्था छ। आसेन्ता मेलामा भएको भनिएको अनियमितताको छानविन गर्न गैर आवासीय नेपाली संघ वेल्जियमले एक छानविन समिति समेत गठन गरिसकेको छ भने एनआरएन केन्द्रिय समितिमा समेत छानविनको लागि चर्को दवाव परेको वुझिएको छ।

यसै सन्दर्भमा मेला आयोजक समितिका तत्कालिन संयोजक तथा एनआरएनएका केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठलाई मेला सम्पन्न गर्दा भएको आयव्ययको विवरण, व्यापारीहरुले अत्याधिक रकम तिरेर वेल्जियम छिरेका र त्यो नियोजित रुपले नै गरेका / गराईएको लगायत अनिमियताका वारेमा उठेका विविध प्रश्नहरुको वारेमा चारदिशाले  प्रतिकृया मागेको  थियो।

प्रस्तुत छ तत्कालिन संयोजक श्रेष्ठले चारदिशालाई  दिएको   प्रतिकृयाको  जवाफको पूर्ण अंश।

 

श्रीमान सम्पादकज्यू,

चारदिशा डट कम

आसेन्टा मेलाका विषयमा उठेका भ्रमहरुका सन्दर्भमा तपाईंको चासोका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईंको मिडियामा निस्कने लेख/समाचारले ति भ्रमहरु हटाउने आशा मैले गरेको छु। म लामो भूमिका बिना नै सोझै तपाईंले राख्नु भएका तीन प्रश्नहरुमा प्रवेश गर्न चाहन्छु।

प्रश्न नं. १: आर्थिक आय-व्ययको बिवरण

तपाईंको जानकारीका लागि सन २०१३ को आसेन्टा मेलाको आय-व्यय विवरण यसैसाथ प्रस्तुत गरिएको छ। यस विवरण अनुसार उक्त मेला आयोजना गर्दा १४ ०११.८ यूरो घाटामा गएको थियो। मेला आयोजना गर्दाको खर्च र खर्च अपुग भएमा त्यसको पूर्ति नेपाल उद्योग बाणिज्य महासंघले गर्ने भन्ने मौखिक सम्झौता भएअनुसार मेला सफलताका साथ सम्पन्न भैसके पश्चात महासंघलाई उक्त अपुग रकमका लागि पटक-पटक मेल लेखिएको समेत जानकारी गराउँदछु। मेलका प्रतिलिपीहरु मसंग अझै सुरक्षित छन्।

प्रश्न नं. २: सहभागी हुन आउने ब्यापारीहरुले आफूहरुले बढी रकम तिरेको र यहीँ बस्ने उद्देश्यले सो गरेको भनेकोले त्यो बढी भनिएको रकम कसले कसरी प्रयोग गर्‍यो भन्ने बारे

उक्त मेलामा सहभागी हुन नेपालबाट आउनु भएका सबैको छनौट र भिसा प्रकृयामा मेरो कुनै संलग्नता र जिम्मेवारी नरहेको सन २०१३ देखि नै स्पष्ट पार्दै आएको छु र पुन: स्पष्ट पार्न चाहन्छु। बेल्जियममा रहेर आसेन्टा मेला सम्पन्न गर्न मेरो भूमिका केन्द्रित थियो र त्यसमा हाम्रो टीम-वर्कले सफलता पायो। मेलाका सहभागीहरूको चयन र बेल्जियम पठाउने प्रकृया नेपाल उद्योग बाणिज्य महासंघको जिम्मेवारी थियो र त्यो प्रकृयामा मेरो कुनै संलग्नता रहेको थिएन। महासंघले ति सहभगीहरुको छनौटकालागि कान्तिपुर दैनिकमा विज्ञापन समेत प्रकाशित गरेको थियो।  महासंघले सोझै IJV-IFAS लाई पठाएको नाम लिष्ट अनुसार (ति महासँघद्वारा छानिएका व्यक्तिहरुको लागि)आसेन्टा मेला (IJV-IFAS) ले नै निमन्त्रणा पठाएको जानकारी गराउँदछु। उक्त महासंघको विज्ञापनको प्रतिलिपी र IJV-IFAS ले पठाएको निमन्त्रणाका प्रतिलिपीहरु तपाईंको जानकारीका लागि यसैसाथ संलग्न गरिएको छ। ति व्यक्तिहरु कुन मापदण्ड अनुसार छनौट भए वा तिनले  के-कति रकम के-कस्ता आश्वासन र उद्देश्यका लागि कसलाई तिरे, यसका बारेमा म अनभिज्ञ छु। मैले कुनै पनि व्यक्तिलाई बेल्जियम वा यूरोप बसाउने आस्वासन नदिएको र कसैसंग गैर-कानुनी रुपमा पैसा नलिएको स्पष्ट पार्न चाहन्छु। ति सहभागीहरुसँग ज्यादा रकम असुलिएको बारे म अनभिज्ञ रहेकाले यदि त्यसरी गैर-कानुनी रुपमा रकम असुलिएको भए त्यो कसले असुल्यो र कसले कहाँ प्रयोग गर्यो भन्नेमा मलाई कुनै जानकारी नरहेको स्पष्ट पार्न चाहन्छु। पिडितहरुलाई सोझै सम्बन्धित देशको सम्बन्धित निकायमा उजुरी हाली न्यायका लागि पहल गर्न समेत सल्लाह दिन चाहन्छु। पिडितहरुलाई यस संबन्धमा मेरो पूर्ण सहयोग रहने समेत जानकारी गराउँदछु।

प्रश्न नं. ३: अन्य तपाईंलाई यस विषयमा प्रस्ट पार्नु पर्ने भए।  

सन २०१३ मा बेल्जियममा आयोजित आसेन्टा मेलाका विषयलाई लिएर फेरि नियोजित तवरले र नियतबश मेरो मानहानि हुने गरी केहि अनलाईन र सोसल मिडियामा समाचारहरु प्रकाशित भएका छन्। यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा सन २०१४ मा नै मैले एक विज्ञप्ति जारी गर्दै यस संबन्धमा स्पष्ट पारेको थिएँ। उक्त मेलामा सहभागी हुन नेपालबाट आउनु भएका सबैको छनौट र भिसा प्रकृयामा मेरो कुनै संलग्नता र जिम्मेवारी नरहेको पटक-पटक स्पष्ट पार्दै आएको छु। बेल्जियममा रहेर आसेन्टा मेला सम्पन्न गर्न मेरो भूमिका केन्द्रित थियो र मेलाका सहभागीहरूको चयन र बेल्जियम पठाउने प्रकृया नेपाल उद्योग बाणिज्य महासंघको जिम्मेवारी थियो र त्यो प्रकृयामा मेरो कुनै संलग्नता रहेको थिएन। तर, मेरो कुनै संलग्नता नरहेको कुरालाई पटक पटक उठाई मेरो बदनाम गराउन केही व्यक्तिहरुको नियोजित दुस्प्रयास रहेको मैले पाएको छु। सन २००९ देखि बेल्जियममा विभिन्न सघं-सस्थामा संलग्न रही प्रवासी नेपाली समाजको हितमा मैले खेलेको भूमिका जगजाहेर छ। म एक पारिवारिक व्यक्ति हुँ। मेरो परिवार र बालबच्चा कै ईज्जत र छविमा नकारात्मक असर पर्ने गरी आधारहिन एंव भ्रामक समाचार प्रकाशित नगरिदिनु हुन म सबैमा हार्दिक अनुरोध गर्दछु।

मैले माथि नै उल्लेख गरेको छु, पिडितहरुले सम्बन्धित निकायमा स-प्रमाण आफ्नो बयानसहित उजुरी गरेर न्याय पाउन सक्छन्। कानूनी उपाय नै न्याय पाउने विश्वासिलो आधार हो। त्यो बाटो नअपनाई मिडियाबाजी मात्रै गर्ने र व्यक्तिविशेषको बदनाम गर्न खोज्नेहरूका बारेमा तपाईंहरूले ध्यान दिई कलम चलाउनु हुनेछ भन्ने आशा लिएको छु। आधारहिन एंव भ्रामक आरोपले नेपाल र नेपाली समाजको हितमा समर्पित हुँदै समाजसेवा गर्न चाहने ब्यक्तित्वहरुलाई निरुत्साहित गर्दै समाजलाई नै बेफाईदा गर्नेमा पनि सबैको बिनम्र ध्यानाकर्षण गराउन चाहन्छु। समाज सेवा, व्यक्तित्व विकास र उद्यमशिलता नै मेरो जीवनमा रूचिका विषय हुन्। यी आधारहिन एंव भ्रामक आरोपले समाजसेवामा निरन्तर लागि रहने मेरो लगावमा कुनै फरक नपर्ने सबै नेपाली दाजुभाई दीदिबहिनी र मेरा शुभेच्छुकहरुलाई विश्वास दिलाउन चाहन्छु।

 कुनै पनि अनुसन्धानमा मेरो सहयोग रहने विश्वास दिलाउँदै,

अर्जुन कुमार श्रेष्ठ

बेल्जियम   ।