नेदरल्याण्डसमा अन्तराष्ट्रिय मेलाको तयारि तिव्र गतिमा हुदै

द्रोण रिजाल, नेदरल्याण्डस
यहि सेप्टेम्बर २ तारिखकादिन नेदरल्याण्डसमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मेलामा नेपाल पनि सहभागि हुने भएको छ।  एम्बेसी फेस्टिभल नामले परिचित यो मेलामा नेपाललाई आकर्षक ढंगले  सहभागी गराउन नेपाली राजदूतावास सहित नेदरल्याण्डसका सबै नेपाली संघ संस्थाहरु तिव्र गतिमा जुटेका छन्।
यस अन्तर्राष्ट्रिय मेलामा हुने नेपालको सहभागितालाई ‘विविधतामा एकता- नेपालको विशेषता’ भन्ने अवधारण दिइएको र सोहि अनुरुप प्रस्तुत हुन लागिएको आयोजक मध्यका एक नेदरल्याण्डसका ब्यबसायी फणिन्द्र पन्तले बताए। नेपाली राजदूतावास, नेदरल्याण्डसका लागि जनरल कन्सुटेल, नेदरल्याण्डसका लागि पर्यटन दूतहरु, एनआरएनए अन्तर्राष्ट्रिय परिषद अन्तर्गतको संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति, एनआरएन नेदरल्यान्ड्स राष्ट्रिय समिति, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, नेपाल समाज नेदरल्याण्डस, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), हिमचुली कला समूह, अन्तराष्ट्रिय नेपाली समाज  लगायत नेदरल्याण्डसमा रहेका अन्य विभिन्न सामाजिक, सांस्कृतिक र ब्यबसायिक संघसंस्थाहरुको सामूहिक सहभागिता रहने यस मेलामा  विशेष गरि नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउदै  नेपालको पर्यटन प्रवर्द्धन अभियानलाई सघाऊ पुर्याउन उच्च महत्व दिइने उनले प्रष्ट पारे।
यसैबीच यस मेलामा नेपालको सहभागितालाई उत्कृष्ट र आकर्षक बनाउने भन्ने बारेमा नेपाली राजदूतावासका पदाधिकारीहरु सहित नेदरल्याण्डसमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले सर्वपक्षीय छलफल गरि जिम्मेवारी बाँडफाँड समेत गरेका छन्। छलफलले नेपाल झल्कने विभिन्न नृत्य तथा नेपाली बाजाहरु सहितको सांगीतिक प्रस्तुतीहरु, नेपाली खानाका परिकारहरु, हस्तकला तथा अन्य सामाग्रीहरु सहित नेपाली भेष भुषामा  मेलामा प्रतुस्त हुने निर्णय गरेको बताइएको छ।
विश्वका करिव ५० भन्दा बढि देशको सहभागितामा नेदरल्याण्डसको द हेग शहरमा हरेक वर्ष आयोजना हुदै आएको  यो अन्तर्राष्ट्रिय मेलामा नेपाललाई भने दोश्रो पटक सहभागि गराइन लागिएको हो।