गुट उपगुटहरुको जेलो नफ़ुकाइ गरिने सहमतिको बार्ता कफी गफ मात्र हो !

डिल्ली राम अम्माई

“यदि राम्रो परिस्थिति बन्यो भने हामीले जितिन्छ” सबै संगठनहरुको कफी गफको निचोड यत्ति हो। जहिले पनि त्यो कहिन्छ तर हुन्छ अर्कै ! ‘राम्रो परिस्थिति’ भन्ने कुरा भनेर हुने कुरा हैन ब्याबहारमा प्रयोग गरेर देखाउने कुरा हो। अहिलेसम्मका प्रयासहरुलाई हेर्दा त्यो त्यति सहज देखिएको छैन र बेल्जियम भित्र रहेका संघ संगठनहरुको गतिबिधी र रवैयालाई हेर्दा अबको परिस्थिति पनि सहमतिको लागि सहज हुने देखिदैन। नेपालमा ठुला बाम दल मिलेका छन् , त्यसैको प्रभाब स्वरुप बेल्जियममा पनि दुई ठुला बाम संगठन भौतिक रुपमा एक भएका छन् । त्यसैले बेल्जियममा रहेका उनीहरुका भात्री संगठनमा देखिएका अन्तरविरोधहरुलाई चुनाबी माहोलमा मजाले जमाउन सकेभने अहिले एनआरएनए बेल्जियमको अध्यक्ष जित्ने उनीहरुको नै बढी सम्भाबना छ। तर भर्खरै एकता भएका बाम संगठनहरुको भित्रि बाहिरी जुङ्गाको लडाईलाई नियालेर हेर्दा सामुहिक निर्णयलाई मान्ने र कार्यान्वयनमा लैजाने संकल्पहरु सुकेको च्याउ जस्तो खुम्चिएको देखिन्छ।
ब्याक्तिगत ‘जुँगाको सिगौरीले आफ्नै जुंगामा खोइरो लाग्ने हो’ भन्ने जान्दा जान्दै पनि एनआरएनएको भुमरीमा यी संगठनहरुले ब्याक्तिगत इगो बोकेर हिड्नु दुखदायी कुरो हो । भलै भोलि यो प्रवृतिलाई सम्बन्धित संगठनको नेतृत्वले हल गर्ला वा गर्दै जाला र संगठनभित्रको मजबुद एकताले एनआरएन नेतृत्व जित्ने परिस्थिति बन्ला । यदि त्यो दिशातर्फ उनीहरु गएभने बामहरुकालागी त्यो सुखद हुनेछ। तर अहिले त दृश्य सन्तोष गर्न लायक देखिदैन।
यदि चुनाब जित्ने हो वा सहमतिको पहलकदमी आफ्नो हातमा लिने हो भने यी बम पन्थीहरुले असिम त्याग सहित आफुलाई तयार गर्न अब ढिला गर्नु हुदैन। किनकि एनआरएनए बेल्जियमको चुनाब ढोका अगाडी आइसकेको छ। त्यसलाई तात्कालिक रुपमा भएपनि समाधान गर्न ढिलाई गर्नु भनेको प्रगतिशील खेमाकोलागि आफ्नो खुट्टामा बन्चरो हान्नु जस्तै हो।

बाम खेमाबाट चित्र सुबेदी, अर्जुन गुरुङ, गङ्गा शर्मा मद्धे एक र साझा सहमतिको सूत्राधारको रुपमा बहालवाला अध्यक्ष लोक दाहाल एनआरएनए बेल्जियमको नेतृत्वमा आउनसक्ने चर्चा चलेको छ। नेतृत्वमा जो आएपनि जित्ने सम्भावनाको मुख्य सूत्र संगठन भित्रकै जनमत र सन्तुलित एकता नै हो। कार्यकर्ता बिचको मजबुत एकता र संकल्पित नेतृत्व बिना जित असम्भब छ । त्यसपछि जित्नाकोलागी सहायक हतियार भनेको जनसम्पर्क समिति भित्रको फुट र उनीहरुको अकुशल रणनीति बीचको खेललाई मानिएला ।

सदस्य संख्याको निरासापुर्ण अवस्थालाई हेर्दा अझै पनि यसै हुन्छ भन्न सकिने अवस्था छैन। यदी जनसम्पर्क समितिभित्र जेलिएको अन्तरविरोध समाधान भयो र उनीहरु एक भएभने उनीहरुको उमेद्वार पनि कमजोर हुदैन। जित्ने सम्भाबना उनीहरुको पनि उत्तिकै रहन्छ। जनसम्पर्क वालाका हालसम्म देखिएका ससक्त उमेद्वारहरुमा सुबास जोशी, कमल पन्थी,अनुजा प्रधान लगायत नै चर्चामा ल्याइएका छन । आँफुलाई स्वतन्त्र जस्तै देखाउन प्रयत्नशील प्रजातान्त्रिक खेमाका अर्का ससक्त उमेद्वार पदम गुरुङको पनि अध्यक्षमा उठ्ने ब्यापक चर्चा छ। उनीहरुको बीच जुन खालका अन्तरविरोधहरु छन् त्यसलाई मिलाउन हम्मे हम्मे पर्ने उनीहरुले नै बताउदै आएका छन्। तर नेतृत्वले असिम त्यागसहित प्रयास गर्ने हो भने आन्तरिक अन्तरविरोध समाधान गर्ने कार्य असम्भब भने छैन।

बिपरित रणनीति :

बेल्जियममा आम सहमतिको सम्भावना हुदै नभएको हैन,सहमतिको सम्भाबना छ। तर राजनैतिक संगठनबिचको प्रतिस्प्रधा सन्तुलित हुँदाहुँदै पनि यहाँ रहेका ठुला संगठनभित्र बुझिनासक्नुका गुठ उपगुठ झाङ्गिदो अबस्थामा छन्। ब्याक्तिगत इगोबाट जन्मिएका यिनै उपगुठहरुको कारणले नेतृत्वलाई निर्णयमा पुग्न र निर्णय भैहाले पनि कार्यान्वयनमा जान बाधा उत्पन्न गरिरहेको छ । जनसम्पर्क खेमामा त झन् आफ्नो इमान्दार कार्यकर्तालाई अर्को खेमाको कुनै एकले पदको लागि प्रस्ताब गर्यो भने पनि संका गर्ने अबस्था छ। भन्नै पर्छ, ‘गुठ हाबी हुनुहुन्न’ भन्नेहरु नै स्वार्थबस बनेका गुठको हर्ताकर्ता छन्। त्यसैले संगठन भित्रको मुख्य समस्या उनीहरुका कार्यकर्तामा हैन नेतृत्वमा देखिन्छ। यो अबस्थामा सबैले मानेका न्युट्रल नेतृत्वले कसैको प्रस्ताब लग्यो भने वा जनसम्पर्क समितीको सामुहिक समर्थनमा बनेको उमेद्वार आइहाल्यो भने त्यसले बाजी मार्न सक्ने सम्भावनालाई नकार्न सकिदैन । जनसम्पर्क समिति समर्थित साझा उमेद्वारले जित्नकोलागी, एकीकृत बनेको बाम खेमाको अन्तरविरोधमा मजाले खेल्न सक्नु पर्छ, चुनाब जितिन्छ भन्नेहरु पनि छन् । आफ्नो जितको मुख्य आधार बाहिर बाहिर खोज्नु कदापि जायज हैन। बाहिरको कमजोरीमा खेल्न सक्नु राम्रो हो तर जित्नाकोलागी आन्तरिक एकता मजबुत बनाइनु नै मुख्य कुरा हुन्छ। ध्रुविकृत बाम खेमामा बिगत देखिका अन्तरविरोधहरु समाधान हुने दिशातर्फ गए, प्रतिस्प्रधी खेमाले आफ्नो एकतालाई मजबुद बनाउन सकेन र प्रतिस्प्रधी खेमाको उमेद्वारलाई हेरेर ‘जस्तालाई तस्तै’को रणनीति अक्तियार गरेभने प्रगतिशील उमेद्वारले जित्ने सम्भावना प्रवल नै देखिन्छ ।

त्यसमा जनजातिहरुको रणनीतिले पनि भूमिका खेल्ने छ । त्यसैले महिलाको प्रतिस्प्रधी महिला, जनजातिको प्रतिस्प्रधी जनजाति र अन्यको प्रतिस्प्रधी अन्य भयोभने सबैका मत सबैतिर बाडिने सम्भाबना बढी हुन्छ। सहमति नहुने परिस्थिति बन्योभने खेल सायद यसरी नै जाने सम्भाबना प्रबल रहला ।

सहमतिको सम्भावना:

एनआरएनए बेल्जियमको चुनाबमा सहमतिको सम्भावना नै छैन भन्न सकिदैन । तर उमेद्वारहरुको चाहना, संगठन भित्रका अन्तरविरोध र आन्तरिक गुठ उपगुठहरुको कारण सहमतिको सम्भाबना उच्च छ भनेर दाबि नगर्दा हुन्छ । एउटै संगठनभित्रका गुठहरुबीच कटु अबस्था यथावत छ । जनसम्पर्क समितिभित्रको बिगत एक दसकदेखिको झगडा मिलाउने प्रयत्नहरु नभएका हैनन् तर ति सबै प्रयत्नहरुमा सधैजसो चिसो पानी पोखिदै आएको छ। मिल्लाकी जस्तो हुन्छ तर अर्को कुनाबाट एउटा किच्चडको मुस्लो निस्कन्छ र सम्हाल्नै मुस्किल हुनेगरी सबैलाई निथ्रुक्क पार्छ। बिगतको त्यो अबस्थाले गर्दा एकीकृत उमेद्वारमा सहमति भैहाले पनि ऊ माथी फेरी पनि अन्तर्घात नहोला भन्ने अबस्था रहेन।

यता केहि समय अघि एकता भएको बाम खेमामा उनीहरुले नस्विकारे पनि गुठउपगुठरुपी समस्याहरु देखिएका छन्। एकता पछि उनीहरु धेरै बलिया भएको देखिए पनि आन्तरिक इगोको कारण कार्यकर्ताहरु दुई/तीन धारमा विभक्त देखिएका छन। बामहरुले आफ्ना यी आन्तरिक समस्या समाधानको दिशामा लागे भने उनीहरुले यहि अबस्थामा जनसम्पर्कको अध्यक्ष उमेद्वारमा सहमति हुने अबस्था देखिदैन। ‘एकीकृत शक्ति भएकोले हामीले अध्यक्ष पाउनु पर्छ’ भन्ने उनीहरुको अन्तसम्म जिकिर रहनेछ । अत सहमतिको लागि पनि प्रजातान्त्रिक खेमाले आफ्ना घर भित्रका आन्तरिक समाधान गरि एकताबद्ध रुपमा प्रस्तुत हुन आबस्यक देखिन्छ।

अर्को तिर प्रगतिशील खेमाको अबस्था पनि झण्डै त्यहि हो। सहमति नै हुने हो भने दुवै पक्षले ‘गोला थुतौं ‘भन्न सक्ने अबस्था आउनु पर्छ । अर्थात सांगाठानिक सन्तुलन झन्डै बराबरी जस्तै हुनु पर्छ जसले मनोबैज्ञानिक रुपमा दुवै पक्षलाई असुरक्षित महसुस होस्।

एक खेमाबाट यदि जनसम्पर्क समिति समर्थित साझा उमेद्वार सुबास जोशी भैहाले भने उनकोलागि मात्र अन्तिम सहमतिको रणनीति बन्ने छ । उनी बाहेक अध्यक्षको बाम उमेद्वारलाई समर्थन गरौन त ! भन्ने अबस्था हालसम्म देखिएको छैन । उनलाई समर्थन दिनको लागी पनि जनसम्पर्कको बिद्रोही समुहले सर्तसहित खेल्ने सम्भाबना उत्तिकै छ। उनि एकपटक अध्यक्षमा हारेको उमेद्वार भएकोले सर्बसाधारणहरुबाट सहानुभूति पाउने सम्भाबना रहे पनि बामहरुले यो अबस्थामा उनलाई समर्थन गर्ने कुराले बामहरुको नेतृत्वलाई धरापमा पार्छ । त्यो अबस्थामा अर्को समूह स्वतन्त्र उमेदवारीको तयारिमा जाने सम्भाबना रहन्छ। समस्या यहिनेर हुने देखिएको स्थितिले चुनाबको आमन्त्रण गर्ने नै प्रवल सम्भावना छ।

फेरी पनि जनसम्पर्क समितिको घर झगडा मिल्यो भने र बामहरुले निर्बिबाद रुपमा अध्यक्षको उमेद्वारलाई टुंगो लगाउन सकेभने तात्कालिक सक्ति सन्तुलनले सहमतिको लागी सकारात्मक मोड लिने कुरालाई नकार्न चाहि सकिदैन। किनकि त्यसपछि जित्नाकोलागी दुवै पक्षले कठिन प्रतिस्प्रधाको सामना गर्नुपर्ने हुन सक्छ र जित्ने पूर्ण बिस्वास दुवै पक्षलाई हुदैन। हो, त्यहि बिन्दुमा सहमतिको लागि निर्णायक बार्ताले सार्थकता पाउने सम्भावना रहन्छ। अन्यथा गुठ उपगुठहरुको जेलो नफ़ुकाइकन गरिने सहमतिको बार्ता केवल कफी गफ मात्र हो।