कृतिमा आधारित नेपाली चलचित्रमा कति न्याय ?

करिब डेढ वर्षअघि निर्माण भएको साहित्यकार कृष्ण धरावासीको कृति (कथा)मा आधारित ‘झोला’ चलचित्रले औसतभन्दा धेरै सफलता हासिल ग-यो । चलचित्रले सतीप्रथा अन्त्य हुनुभन्दा अगाडिको नेपाली समाजको चित्रण गरेको थियो । चलचित्रले तत्कालीन पुरुषप्रधान समाजमा जवानीमै बिधवा हुन पुगेकी नारीको पीडा बोल्छ ।
यादवकुमार भट्टराईको निर्देशनमा बनेको यो चलचित्रले नेपाली दर्शक र समालोचकको मात्र मन जितेन, यसले ओस्कार पुरस्कारसम्मको यात्रा ग-यो । यही चलचित्रबाट अभिनेत्री गरिमा पन्तले दक्षिण एसियाली चलचित्र पुरस्कारसमेत हात पार्नुभयो ।
बालकृष्ण समको अमर कृतिमा आधारित चलचित्र ‘प्रेमपिण्ड’, गुरुप्रसाद मैनालीको साहित्यिक कृतिमा बनेको ‘परालको आगो’, ध्रुवचन्द्र गौतमको ‘कट्टेल सरको चोटपटक’ कृतिबाट निर्माण भएको ‘वासुदेव’ जस्ता केही चलचित्र सफल नै मानिन्छन् । विसं २०४६ को परिवर्तनमा आधारित मोदनाथ प्रश्रितको ‘सपनाहरु देशलाई’मा आधारित ‘बलिदान’ले चर्चा पाएपनि सोचेजति सफलता पाउन सकेन ।
नेपालको कृतिमा आधारित पहिलो चलचित्र ‘परिवर्तन’ हो । जनार्दन समको ‘चेतना’ नाटकमा आधारित यो चलचित्र विसं २०२२ मा बनेको थियो । साहित्यकार विजय मल्लको उपन्यास ‘कुमारी शोभा’लाई आधार बनाएर प्रेमबहादुर बस्नेतले निर्देशन गरेको ‘कुमारी’ पहिलो नेपाली रङ्गिन चलचित्र हो । नीर शाहद्वारा निर्देशित डायमन शमशेर राणाको ऐतिहासिक उपन्यास ‘वसन्ती’ तथा ‘सेतोबाघ’ मा आधारित दुई चलचित्र ‘वसन्ती’ र ‘सेतो बाघ’ ले पनि कृतिलाई न्याय नगरेको चर्चा चल्यो । भूकम्प अगाडि प्रदर्शनमा रहेको महत्वाकाङ्क्षी चलचित्र ‘सेतो बाघ’ ले सोचेअनुसार सफलता हासिल नगरेपछि पुनःप्रदर्शन गर्ने भनिएको छ ।
त्यस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ खण्डकाव्यलाई आधार बनाएर निर्माण भएको चलचित्र ‘मुनामदन’ तथा लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ ले सामान्य चर्चा पाएपनि राम्रो व्यापार गरेनन् ।
त्यसैगरी, वासु शशीको ‘नगदनारायण’ कृतिमा बनेको ‘लोभीपापी’, कर्ण शाक्यद्वारा लिपिबद्ध आत्मवृत्तान्त ‘पल’ लाई साभार गरेर निर्माण भएको ‘पल’, नीर शाहले नै निर्माण गरेको गोपालप्रसाद रिमालको पुस्तक ‘मसान’ माथि निर्माण भएको ‘मसान’ पनि सोचे जस्तो सफल हुन सकेन ।
नेपालमा हालसम्म करिब डेढ दर्जनमात्र कृतिमा आधारित चलचित्र बनेका छन् । त्यसमध्ये व्यावसायिक सफलता हासिल गरेका नगन्य छन् । चलचित्र निर्माणको नाममा अमर कृतिको आत्मा मारेर पर्दामा उतार्ने गरेको आरोप लाग्ने गरेको छ । निर्माता, निर्देशकले मात्र नभएर कलाकारले पनि कथाका पात्रको चरित्रमा न्याय नगरेको गुनासो समालोचकको छ ।
चलचित्र समीक्षक प्रकाश सायमी नेपालमा निर्माण भएका कृतिमा आधारित चलचित्रमध्ये थोरैले मात्र न्याय गर्न सकेको तर्क राख्नुहुन्छ । कृतिमा आधारित प्रायः सबै चलचित्र हेर्नुभएका उहाँले पछिल्लो समय ‘झोला’ र ‘सेतो बाघ’ हेर्नुभएको थियो । ‘झोला’ बाट केही सन्तुष्ट देखिएका सायमीले ‘सेतोबाघ’ उपन्यासको तुलनामा राम्रो चलचित्र बन्न नसकेको बताउनुभयो । “सेतो बाघ’ मा पात्र चयनदेखि लिएर धेरै कुरामा न्याय भएको छैन”, उहाँले भन्नुभयो ।
समीक्षक सायमीका अनुसार नेपालमा कृतिमा आधारित ०.५ प्रतिशत चलचित्र मात्र सफल भएका छन् । “निर्माता, निर्देशकले थोरै लगानी र कम मेहनतमै कृतिमा आधारित चलचित्र बनाउनुभन्दा यस्तो कठिन काममा हात नहालेकै बेस हुन्छ, यदी बनाउने नै हो भने कृतिको मर्मअनुसार बनाउनु प¥यो”, उहाँले भन्नुभयो ।
सञ्चारकर्मी नवराज लम्साल कृति पढ्दा जस्तो पात्र मनमा आउँछ त्यस्तो चलचित्र हेर्दा नपाएको गुनासो गर्नुहुन्छ । कृतिमा आधारित प्रायः चलचित्र हेर्नुभएका लम्सालले भन्नुभयो, “केही निर्माता, निर्देशकले कृतिको मर्म वास्तविक उतार्ने कोसिस गर्नुभएको छ, अरुको प्रयासलाई पनि खराब भन्न चाहन्न ।”
रङ्ग पत्रकार सुब्रत आचार्य बजेटकै अभावका कारण कृतिमा आधारित चलचित्र राम्रा बन्न नसकेको बताउनुहुन्छ । “चलचित्रमा कम लगानी छ, जसले गर्दा छायाङ्कन स्थल, कलाकार चयनलगायतका कुरामा ‘कम्प्रमाइज’ गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । चलचित्र पत्रकार दीपेन्द्र लामा चलचित्र आफैँमा एक कृति भएकाले व्यावसायिक हिसाबले यति सफल असफल भनेर दाँज्न नमिल्ने बताउनुहुन्छ । उहाँ कृति लेखन र चलचित्र निर्माण फरक पाटो भएकाले समान दाँज्न नमिल्ने तर्क गर्नुहुन्छ । “व्यावसायिक असफलताको डरकाबीच पनि लगानी गरेर कृतिमा आधारित चलचित्र बनाउनु नै ठूलो कुरा हो,” पत्रकार लामा भन्नुहुन्छ ।