टेलिकमले लगायो जागीर अबधीमा हदबन्दी

तीन उच्च अधिकारीको जागिर खुस्कियो

सरकारी स्वामित्वमा रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको जागिरे अवधिमा हदबन्दी लगाइएको छ । टेलिकमको आइतबार साँझ बसेको सञ्चालक समिति बैठकले उच्च पदस्थ कर्मचारीको जागिर अबधीमा सीमा तोकेको हो ।

नयाँ व्यवस्था अनुसार कम्पनीको एउटै पदमा लामो समयसम्म काम गर्न नपाइने भएको छ । बैठकले प्रबन्ध निर्देशक भइसकेको व्यक्तिले कार्यकाल समाप्त भएपछि तल्लो तहमा झरेर काम गर्न नपाउने व्यवस्था गरेको छ । प्रबन्ध निर्देशकको पाँच वर्षे कार्यकाल समाप्त भएपछि उसलाई स्वतः अवकास दिइने छ ।

यसभन्दा अगाडी प्रबन्ध निर्देशक भइसकेको व्यक्ति आफ्नो कार्यकाल समाप्त भएपछि पुनः नायव प्रबन्ध निर्देशक भएर काम गर्दै आएका थिए ।

त्यसैगरि, नायव प्रबन्ध निर्देशकहरुले पनि सोही पदमा पाँच वर्ष सेवा अवधी पुगेपछि स्वतः अवकास पाउने भएका छन् । यस बिचमा प्रबन्ध निर्देशकमा बढुवा भएमा भने उनीहरुको सेवा अवधि निरन्तर हुने छ ।

कम्पनीमा कार्यरत प्रबन्धकहरुको हकमा भने ८ वर्षे सीमा लगाइएको छ । एउटै प्रबन्धक पदमा लगातार ८ वर्ष काम गरेका कर्मचारीलाई पनि स्वतः अवकास दिइने निर्णय बैठकले गरेको छ ।

३ वर्ष अन्य कम्पनीमा काम गर्न नपाइने

साथै, बैठकले सेवाबाट अवकास भएका कर्मचारीहरुले तीन वर्षसम्म प्रतिस्पर्धी कम्पनीमा काम गर्न नपाउने पनि व्यवस्था गरेको छ । यदि अटेर गरेर प्रतिस्पर्धी कम्पनीमा छिरेमा टेलिकमबाट पाउने उसका सेवा सुविधाहरु कटौती हुने बताइएको छ ।

समितिको नयाँ निर्णयपछि मधुसूदन कर्माचार्य, अनुपरञ्जन भट्टराई र जीवनरत्न शाक्यले अवकास पाएका छन् । कर्माचार्य र शाक्य पाँच वर्षदेखि एउटै पद नायब प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए भने भट्टराई एक पटक प्रबन्ध निर्देशक भइसकेपछि पनि पुनः नायब प्रबन्ध निर्देशकमा झरेर काम गरिरहेका थिए ।

साभार: अनलाइन पत्रिका