संवादबाटै असन्तुष्ट दलका माग सम्बोधन गरिने
काठमाडौं । सत्ता पक्षीय दलहरु र प्रमुख प्रतिपक्षी दलले वार्ता र संवादबाटै आन्दोलनरत दलका माग सम्बोधन गर्ने सहमति गरेका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच आज बसेको बैठकले उदारताका साथ संविधानप्रति असन्तुष्ट दलका माग सम्बोधन गर्ने विषयमा छलफल गरेको हो ।
बैठकमा आन्दोलनरत दल अनुपस्थित भएकाले वार्ता परिणाममुखी हुन नसके पनि वार्ताबाटै समस्याको समाधान खोज्न आफ्नो पार्टीले सुझाव दिएको बैठकमा सहभागी काँग्रेसका नेता महेश आचार्यले जानकारी दिनुभयो ।
वार्ताको वातावरण बनाउन अनौपचारिक भए पनि वार्ता सुरु गर्नुपर्ने सुझाव दिएको जानकारी दिँदै नेता आचार्यले भन्नुभयो, “आन्दोलनरत दललाई वार्तामा आमन्त्रण गर्न र सहमतिका लागि उत्प्रेरित गर्न हामीहरु पनि तयार छाँै ।”
प्रधानमन्त्री र मन्त्रीहरुले आन्दोलनरत दलका मागका बारेमा सार्वजनिक रुपमा टीका टिप्पणी गर्नुको साटो औपचारिक रुपमा बसेर छलफल गर्नुपर्ने काँग्रेसको सुझाव छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले असन्तुष्ट दलका माग सम्वाद र छलफलबाटै समाधान गरिने र वार्तालाई निरन्तर दिइने बताउनुभयो । मोर्चामा आवद्ध दल बैठकमा अनुपस्थित भएको सम्बन्धमा उहाँले केही नबिग्रेको र छिट्टै छलफल गरेर अर्को बैठक बोलाइने बताउनुभयो ।
मोर्चामा आबद्ध चार दललाई मात्र वार्ताका लागि पत्र पठाइएकाले सङ्घीय गठबन्धनमा आवद्ध दलहरु बैठकमा सहभागी भएनन् प्रसंगमा मन्त्री खरेलले प्रधानमन्त्री कार्यालयमा मोर्चाको नाममा मागसहितको पत्र दर्ता गराएकाले सोही बमोजिम पत्र पठाइएको स्पष्ट पार्नुभयो ।
माओवादी केन्द्रका नेता रामबहादुर थापाले मधेस केन्द्रित दलहरु वार्तामा उपस्थित नभए पनि कसरी समस्या हल गर्न सकिन्छ भन्ने सम्बन्धमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भएको जानकारी दिनुभयो । नेता थापाले पुनः वार्ता गरी सम्वादबाटै समस्या हल गर्न सकिन्छ भन्ने सहमति भएको बताउनुभयो ।
प्रधानमन्त्रीले सरकार वार्ता र छलफलबाट नै समस्याको समाधान चाहन्छ भन्ने दृढता व्यक्त गर्दै पत्र पठाएको उपप्रधानमन्त्री एवम् मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो ।
वार्ता र सम्वादबाटै समस्या हल गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर रहेको स्पष्ट पार्र्दै उपप्रधानमन्त्री गच्छदारले आन्दोलनकारी दललाई वार्तामा आउन पुनः आग्रह गर्ने सहमति भएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरी आज वार्ताका लागि बोलाएको भए पनि असन्तुष्ट दलहरुले भने आफूलाई वार्ताका बारेमा कुनै जानकारी नभएको सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले राससलाई बताउनुभयो ।
प्रधानमन्त्रीले मङ्गलबार मधेसी मोर्चालाई सम्बोधन गरी ६ बुँदे लिखित पत्र पठाउनुभएको थियो । मोर्चाका तर्फबाट गत वैशाख ३० गते सरकारलाई पठाइएको ध्यानाकर्षण पत्रको जवाफमा प्रधानमन्त्री ओलीले मोर्चालाई नै सम्बोधन गरी पत्र पठाउनुभएको हो ।
बैठकमा प्रधानमन्त्री ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत प्रमुख दलका दोस्रो तहका नेता एवम् साना दलका अध्यक्ष सहभागी हुनुहुन्थ्यो ।