यार्सा टिप्न विद्यालय बन्द गरेर शिक्षक र विद्यार्थी लेकतिर

रुकुमको रन्मामैकोटकी कक्षा २ मा पढ्ने ११ वर्षीया जोथना विक डोकोमा कपडा राख्दैछिन् । यार्सा टिप्न एक महिनासम्म लेकमा बस्ने भएकाले जाडोमा लगाउनेदेखि खाने बस्नेको बन्दोबस्तको तयारीमा छिन् उनी । उनी पढ्ने पुठा हिमालयन उच्च माविमा एकमहिने बिदा भइसक्यो । तीन वर्षदेखि यार्सा टिप्न थालेकी जोथनाले पोहर चार, पाँच वटा मात्रै यार्सा खोज्न सकिन् ।
पोहर चार, पाँच बोट (यार्सा) टिपेकी जोथनाले भनिन् – “दुःख छ, पाउँदैन ।” साथीहरु पनि धेरै भेट हुने उनले अनुभव सुनाइन् । उनी पढ्ने विद्यालय जेठको ५ गतेदेखि असारको १२ गतेसम्मका लागि बिदा छ । यो यार्सागुम्बा टिप्ने मुख्य मौसम हो ।
जोथनाकी आमा सुर्जलाङ पनि यार्सा टिप्ने तयारी गर्दै छिन् । यही यार्साको कमाइले जीवन गुजार्नुपर्छ उनको । श्रीमान् बिरामी भएकाले आम्दानीको स्रोत जुटाउन मुस्किल भएकाले छोरीको सहारा लिनुपर्छ उनलाई ।
उनले भनिन् – “आमा छोरीसँगै जाने हो । बूढा बिरामी भएर यसपालि जान सकेनन् । छोरीको स्कुल बिदा छ, त्यही भएर लैजाने ।”
यार्सा खोज्ने समय पारेर विद्यालयमा बिदा दिइएको उनी पढ्ने विद्यालयका प्रावि शिक्षक विष्णु पुनमगरले बताए । उनले भने – “के गर्नु, स्कुल खोले पनि विद्यार्थी आउँदैनन्, बन्द त गर्ने प-यो ।” अन्य बिदा कटाएरै भए पनि विद्यालय बन्द गर्नु बाध्यता भएको उनको भनाइ छ ।
स्थानीय गाउँका अगुवा लक्ष्मीप्रसाद पुनले जरिवाना लगाउँदासमेत विद्यालय चल्न नसकेकाले बाध्य भएर बन्द गर्नुपरेको दुःखेसो गर्नुभयो । “एक विद्यार्थी बराबर दिनको रु ५० जरिवाना गर्दा पनि विद्यार्थी आएनन्, अनि बन्द गर्नै प¥यो,” पुनले भने – हामीले चाहेर पनि स्कुल सञ्चालन गर्न सक्दैनौँ ।”
नजिकैको गाविस हुकामको राप्रावि गरगाउँ पनि जेठ १ गतेदेखि बन्द छ । यार्सा खोज्न विद्यार्थीलाई विदा दिइएको छ । हुकाम–४ गरगाउँ निवासी १० वर्षीया चेतना पौडेल कक्षा ४ मा पढ्छिन् ।
असार १ गतेसम्मको बिदाको समयमा यार्सा टिप्ने जाने सोचमा उनी पनि छिन् । यार्सा टिप्ने तयारीमा उनी जुटेकी छिन् । “बुकीमा जीवन बुटी टिप्न जाने” – उनले सङ्क्षिप्तमा जवाफ दिइन् ।
यार्सालाई यहाँ स्थानीयवासीले ‘जीवनबुटी’, ‘किरा’, ‘बोट’को नामले चिन्छन् । अहिले यार्सा मौसम भएकाले विद्यालय बन्द भएको बताउने ९ कक्षाका स्थानीयवासी वीरेन्द्र पौडेलले पोहोर साल राम्रै यार्सा टिपेको अनुभव सुनाए । यसपालि उनी जाने नजाने दोधारमा भए पनि उनका अर्का छिमेकी झरना पौडेल जाने सोचमा छिन् । पोहोर १५ वटा टिपेको उनले बताइन् ।
साठी वर्षका ढोटी रोका मगरका तीन छोरा र एक छोरी छन् । प्यारी रोका रिसल्ला माविमा ७ मा पढ्दै छिन् । विद्यालय विदा भएकाले उनलाई पनि सँगै लिएर जाने तयारीमा रहेको ढोटीले बताए ।
कक्षा ४ पढेका रमितले गएको वर्ष ५०–६० वटा खोजेको अनुभव सुनाए । “यसपालि लाखौँ कमाउँछु होला” – उनले आशावादी हुँदै भने । “लेक (बुकी) लाग्यो भने साह्रै समस्या हुन्छ, साना साना कति बिरामी हुन्छन्” – उनले भने । यार्सा पाउने क्षेत्र पुपाल लेक क्षेत्रसँग जोडिएका गाविसमा यो समयमा विद्यालयहरु बन्द छन् ।
हुकाम र रन्मामैकोट गाविसमा रहेका सबै विद्यालय बन्द भएका छन् । यहाँ रहेका करिब १५–१६ वटा विद्यालय सबै बन्द भएको शिक्षक विष्णु पुन मगर बताउँछन् ।
पुठा हिमालयन उच्च माविमा ४०० विद्यार्थी छन् । विसं २०६५ देखि यो समयमा यहाँ नियमित रुपमा विद्यालय बन्द हुँदै आएको छ ।
यस विद्यालयमा १४ जना शिक्षक छन् । त्यसमध्ये आठ जना स्थानीयवासी हुन् । शिक्षक–विद्यार्थी सबै यार्सा टिप्न जाने गरेको शिक्षक पुनले बताए । उनले आफू पनि यार्सा टिप्न जान लागेको सुनाए ।
पुपाल लेकमा यार्सा टिप्न जाने क्रममा उनलाई बीचबाटो हान्पामा भेटियो । भर्खरै एसएसली दिएकी छोरी अनिता र विनितालाई पनि यार्सा टिप्न उनी लाँदै छन् । “कक्षा ८ मा पढ्ने धनसिंह पनि जाने भनेर ढिपी गरेको छ, खै जान्छ होला” – प्रश्नमा उनले भने ।
सोह्र वर्षदेखि विद्यालयमा पढाउँदै आएका शिक्षक विष्णु पुन २०५५ सालदेखि नियमित यार्सा टिप्दै आएको बताउँछन् । उहाँका अनुसार ३–४ कक्षा माथिका सबै विद्यार्थी यार्सा टिप्न जान्छन् । कामविशेष परेकाबाहेक स्थानीय शिक्षक पनि सबै यार्सा टिप्न जाने गरेका छन् । आर्थिक उपार्जन हुने भएकाले यसरी यार्सामा सबैको आकर्षण बढेको हो ।
यस कामका लागि घरमा आमाबुबाले बालबालिकालाई प्रयोग गर्छन् । उनीहरुका आँखा तेजिला हुने र धेरै टिप्ने भएकाले बालबालिका अनिवार्य रुपमा लाने गरिएकाले विद्यालयमा जरिवाना लगाउँदासमेत विद्यार्थी नजाने गरेका हुन् ।
“बालबालिकाले धेरै टिप्छन्,” मैकोटका अमरधन पुनले भने । दुईदिनपछि यार्सा सङ्कलन खुला गर्ने तयारी गरिएकाले बालबालिकासहित पाल लिएर गाउँले लेक चढ्न थालेका छन् । पालको अस्थायी बास नै बनाएर उनीहरु आवासीय रुपमा बस्न थालेका छन् । यार्सा व्यवस्थापन समितिले स्थानीयवासीलाई निःशुल्क र अन्यलाई रु तीन हजार शुल्क लिएर यार्सा खोज्न अनुमति दिने गरेको छ । प्रतिव्यक्ति रु तीन हजार तिरेपछि मौसमभरि उनीहरुले यार्सा खोज्न पाउने छन् ।
रुकुमको विकटमा पर्ने पुपाल लेक क्षेत्रमा यार्सा पाइन्छ । यहाँको यार्सा अन्य क्षेत्रको भन्दा राम्रो र मूल्य पनि बढी पाउने भएकाले टिप्नेको आकर्षण हुने गरेको स्थानीयवासीले सुनाए ।
रुकुमको सदरमुकाम खलङ्गाबाट एक दिनको गाडी यात्रापछि चार दिन उत्तरपूर्व हिँडेपछि पुपाल लेक पुगिन्छ । लेक आसपास क्षेत्रका बासिन्दासमेत करिब दुई दिन हिँडेर सो क्षेत्रमा पुग्छन् । समुद्र सतहबाट चार हजार ५०० मिटरभन्दा माथि हिमाल क्षेत्रमा यार्सा पाइन्छ । जेठ १४ देखि यहाँ यार्सा टिप्न खुला गरिँदैछ ।
– नारायण ढुङ्गाना