मस्को – रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थलनजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुईजनाको मृत्यु भएको छ ।
साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको अधिकारीले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो ।
उक्त विमान धावनमार्गबाट करिब सय मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको विमानले धावनमार्गनजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो ।
विमानका चालक दलका दुवै सदस्यको मृत्यु भए पनि विमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।