काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक सुरु भए लगत्तै रोस्टम घेराउ गरेका छन् । कांग्रेसको रोस्टम घेराउका कारण संसद बैठक स्थगित भएको छ ।
बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
संसद बैठकमा प्रधानमन्त्री या प्रमुख विपक्षी दलको नेताले पहिले बोल्ने भन्ने बारे विवाद भइरहेका बेला सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे । उनले सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न दिएपछि विपक्षी कांग्रेसका सांसदले रोस्टम घेराउ गरेका हुन् । उनीहरुले संसदको मर्यादा कायम गर्नु पर्ने तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्नु पर्ने मागसहितका नारा लगाए ।
सत्ता पक्षका सांसदले टेबुल ठटाए । विरोध जारी रहेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी कार्यसूचि तय गरेको थियो ।
तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा जनताका तर्फबाट आफूहरुले कुरा राख्न पाउनु पर्ने र त्यसका लागि प्रधानमन्त्री ओलीले भन्दा पहिले दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने अडान लिएपछि विवाद भएको हो । सक्ता पक्षले भने प्रधानमन्त्री ओलीले नै पहिले बोल्न पाउनु पर्ने अडान लिएका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी दिने तथा विवादीत गुठी विधेयकबारे संसदमा सरकारको धारणा स्पष्ट पार्ने तयारी थियो । तर उनले बोल्न पाएनन् ।