बिदेह नगरपालिकामा पुनः आन्दोलनको संकेत

जनता उच्चमावि बेलापट्टीका शिक्षकहरुद्वारा आन्दोलनको चेतावनी !!

तुलसी नेपाल – धनुषाको श्री जनता उच्च माध्यमिक विद्यालयका सम्पुर्ण स्थायी, अस्थायी, राहत तथा करारमा कार्यरत शिक्षकहरुले बिगत चार महिनादेखी तलब नपाएको भन्दै आन्दोलनको चेतावनी दिदैं, आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । 

बिदेह नगरपालिकाकै अन्य सामुदायिक बिद्यालयका शिक्षकहरुले तलब पाईसकेको तर जनता उमाबिका शिक्षकहरुलाई भने उपेक्षा गरिएको उनिहरुको भनाइ छ । यस बिषयमा बिदेह नगरपालिकाका प्रमुख बेचैन दासलाई पटक पटक आग्रह गर्दा नगर प्रमुख दासले २०७६ जेठ २१ गते एक हप्ता भित्रै शिक्षकको समस्या समाधान गर्छु भन्ने आश्वासन दिए पनि समयसिमा बितिसक्दा समेत शिक्षकको समस्यामा प्रमुख दास गम्भीर नभएको शिक्षकहरुको आरोप छ । 


शिक्षा बिभाग बाट जनता उमाबीमा आएको ४ करोड रुपैयाँ नगर प्रमुखलाई कमिशन दिन विद्यालय ब्यबस्थापन समिती र विद्यालयमा कार्यरत शिक्षकहरु नमानेपछी त्यसैका कारण कमिसन लिन नसकेपछि मेयर दासले एक कनिष्ठ शिक्षकलाई निमित्त प्रअको जिम्मेवारी दिएपछि जनता उमाबी अशान्त छ । विद्यालयका प्रधानअध्यापक पवन कुमार मण्डलले चारदिशा सँग कुरा गर्दै बिवाद समाधानका लागि धनुषाका सिडिओ र सरोकारवाला सँग छलफल गरीरहेको जानकारी दिए । 


कमिशन नपाएको झोंकमा विद्यालयको खाता बन्द गर्न लगाएका नगर प्रमुख दासले विद्यालयको शिक्षकको तलब रोकि नगर प्रमुख दासले गैरजिम्मेवार कार्य गरेको प्रअ मंडलले जनाए । विद्यालयको बन्द रहेको खाता यथाशीघ्र फुकुवा गरि आफुहरुको तलब उपलब्ध गराउन आग्रह गर्दै यदी त्यसो नभएमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी शिक्षकहरुको छ । 


यस्ता छन् आन्दोलनका कार्यक्रम:


२०७६ असार ३ गते कालोपट्टी बाँधेर शिक्षण गर्ने

२०७६ असार ४ गते एक घण्टी पेन डाउन गर्ने

 २०७६ असार ५ गतेदेखि तलब भुक्तानी नभएसम्म पेन डाउन गर्ने