प्रहरी नै असुरक्षित !

मुगु – पूर्वी करान भेगमा पर्ने मुगुमा कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरू वर्षौदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन । साविकको पुलु गाविसस्थित हालको केन्द्रमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा त्रासै त्रासमा रात बिताउँदै आएका हुन् ।

माथि कडा चट्टान, पहाडको मुनि सानो समथल जमिन र छेउबाटै बगेको मुगु कर्णालीको उर्लदो भेलले प्रहरीलाई रात बिताउनै सकस हुने गरेको छ । वर्षा लाग्नेबित्तिकै उर्लेर आउने कर्णालीले कति खेर बगाउने हो भन्ने चिन्ताले उनिहरूलाई सदैव सताईरहेको हुन्छ । पानी पर्दा चुहिने भवनभित्रको सकस बसाई र माथिबाट ढुंगा खस्ने डरले रातभरी जागा बस्नु परिरहेको प्रहरी जवान प्रेमबहादुर केसीले बताए ।

अघिल्लो वर्षामा राति आएको कर्णालीको बाढीले धार परिवर्तन गर्दै प्रहरी चौंकिको शौचालय समेत बगाएर लगेको थियो । शौचालय लगेको थाहा पाएपछि उठेका प्रहरीको राति नै भागाभाग भएका थियो भने ओडारमा रात बिताउनु परेको थियो । सो भवन अझैसम्म पनि नबन्दा उनीहरूको अवस्था अझै दयनीय रहेको छ । उनीहरूको दुख त्यतिमा मात्रै सीमित छैन । सो क्षेत्रमा अत्यधिक मात्रामा सर्प लाग्ने गरेको छ जसका कारण उनीहरू सुत्दा लामखुट्टेबाट बच्न प्रयोग गरिने झुल प्रयोग गरेर सुत्ने गरेका छन् ।

पुलुमा कार्यरत प्रहरीलाई बाढी, पहिरो, सर्पको मात्र त्रास होइन । उनीहरूले २४ सैं घण्टा काम गर्नु पर्ने अर्को समस्या पनि छ । भूगोलको हिसाबले हुम्लाको नम्खा गाउँपालीका पछि दास्रो ठुलो गाउँपालिका मुगमकामरोग गाउँ पुलुमा कुल ८ जना प्रहरीले रातदिन नभनी डिउटी गरीरहेका छन् ।

पुलु प्रहरी चौकीमा रहेका ८ जनाको टोलिले गाउँपालिकाको दुई नम्बर वडा बाहेक अरु ८ वटै वडा हेर्नु परिरहेको छ । पुलु प्रहरी चौकीले वडा नम्बर दुई डोल्फुमा कुनै घटना घटे दुई दिन लगाएर पुग्नु पर्छ । प्रहरीको सञ्चार सेट तथा अन्य कुनै सञ्चार सम्पर्क हुन नसक्दा झनै समस्या झेल्नुपरेको छ । त्यस्तै पुलुकै प्रहरीले नगरपालिकाको सिमाना काउलापानीसम्म हेर्नु पर्ने बाध्यता रहेको छ । यार्सा संकलनको समय देखि तिब्बतको हाटबजार बन्द नहुँदासम्म र असोज–कार्तिकमा व्यापारिक चहलपहल हुने बेलासम्म प्रहरी जनशक्ति कम तथा भौगोलिक विकटताका कारण सुरक्षा दिन कठिन हुने गरेको छ ।

जिल्लाभरिका लागि ३ सय ५४ जनाको दरबन्दी रहको भएपनि त्यस अनुसारका प्रहरी छैनन् । अहिले १ सय ९० जना मात्र कार्यरत रहेकाले केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जनशक्ति कम र भूगोल तथा छरिएका बस्ती भएकाले सुरक्षा व्यवस्था मिलाउन कठिन देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए ।

उनका अनुसार सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकामा प्रहरी निरीक्षको कमाण्ड रहने गरी ईलाका प्रहरी चौकी राख्न प्रक्रिया अगाडि बढिरहेको बताए । त्यस्तै जीर्ण भवनमा बस्दै आएका पुलु प्रहरी चौकीका प्रहरीका लागि सुरक्षित र व्यवस्थित भवन निर्माणका लागि गाउँपालिकासँग छलफल चलिरहेको उनले जानकारी दिए ।