‘मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन’

बाँके – सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने बताए ।

मन्त्री बाँस्कोटाले भने, ‘विधेयक श्रमजीवी पत्रकारहरूको हितमा छ, लेखेर खानेहरूका पक्षमा छ । लेखेकै आधारमा कोही कारबाहीमा पर्दैन । गलत गर्नेहरूलाई विधेयकले नियमन गर्ने हो, सही सूचना दिँदा कारबाही हुन्छ कि भनेर डराउनु पर्दैन ।’ उनले विधेयक पढ्न पत्रकारहरूलाई सुझाव दिँदै सडकमा उफ्रेर, आन्दोलन गरेर समस्या समाधान नहुने बताए ।

‘मिडिया विधेयकले नियन्त्रण गर्न आँट्यो भनेर झण्डा उठाउनु ठीक हो, यहाँ त नियमन गर्न पाइँदैन भनेर झण्डा उठाइँदै छ,’ मन्त्री बाँस्कोटाले भने, ‘मिडिया नियमन गर्न पाइँदैन भन्नु पत्रकारिता कानुनभन्दा माथि छ भन्न खोजिएको छ । विधेयकमाथि संसद् र सदनमा छलफल भइरहेको छ । यसमा आन्दोलन गर्नुपर्ने कुनै कारण नै छैन ।’

विधेयकमा भएका दण्ड जरिवानाका विषयमा छलफल गर्न सकिने बताउँदै उनले विधेयक दर्ता गर्नासाथ फिर्ता लिनुपर्छ भन्दै जुलुस निकाल्ने प्रवृत्ति गलत भएको औँल्याए । ‘सरकार अभिभावक हो, अभिभावकले सन्तानको घाँटी रेट्न सक्दैन । यो विधेयक गला रेट्न ल्याएको होइन । सन्ततीको संरक्षणका लागि विधेयक ल्याएको हो,’ उनले भने ।

पत्रकारिताको पद्धतीलाई सही रूपमा सञ्चालन गर्नका लागि विधेयक ल्याएकोले यसमा विवाद र आन्दोलन गरेर समय खेर नफाल्न पत्रकारहरूलाई मन्त्री बाँस्कोटाले आग्रह गरे । उनले देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि केही गैरसरकारी संस्थाहरूको रोजीरोटी गुमेपछि पत्रकारिता क्षेत्रमाथि खेल्ने, फाइदा लिने प्रयास गरिरहेको बताए ।

‘कसैको खेती सकिन थालेपछि अब पत्रकारिता खतरामा प¥यो भनेर खेती सुरु गरेका छन् । यसमा सरकार झुक्नेवाला छैन,’ उनले भने, ‘सञ्चार गृह ‘फेक कि फ्याक्ट’ बन्ने ? विधेयकले अब स्पष्टरूपमा निर्धारण गर्नेछ । यसमा गलत गर्नेहरू पाखा लाग्नेछन् । पत्रकारिताको गरिमा जोगाउनकै लागि हामीले यो विधेयक ल्याएका हौँ ।’

मन्त्री बाँस्कोटाले समानुपातिक विज्ञापन वितरण गर्नका लागि विज्ञापन प्राधिकारण गठन गर्ने तयारी भइरहेको पनि बताए । ‘विज्ञापन अधिकार हो भनेर विधेयकमा आएको छ । विज्ञापनमा सबैको पहुँच स्थापित गर्न खोजिँदै छ । तर, यहाँ सरकार तानाशाही र मिडियामैत्री भएन भनेर प्रचारबाजी गरिएको छ । विज्ञापनमा एकाधिकार तोड्दै छौँ । अनि सरकार कसरी तानाशाही भयो ?,’ उनले भने ।

मन्त्री बाँस्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताए । ‘पत्रकारिताले राष्ट्रिय एकतालाई मजबुत बनाउने हो,’ उनले भने, ‘तर यहाँका केही सञ्चारमाध्यममा विदेशी लगानी भित्रिरहेको छ । अनि हाम्रो राष्ट्रियता कति सुरक्षित र मजबुत छ भन्नेर हामीले पत्याउने ? विदेशीले लगानी अनुसारका सूचना खोजिरहेको हुन्छ, यसले हाम्रो राष्ट्रियतामाथि खतरा हुने भएकै कारण सञ्चारमाध्यममा विदेशी लगानी प्रतिबन्ध लगाउँछौँ ।’

यस्तै मन्त्री बाँस्कोटाले आइतबार नै बाँकेको कोहलपुरमा रहेको गोरखापत्र संस्थानको जग्गा निरीक्षण गर्दै तीन वटा प्रदेशलाई लक्षित गरेर गोरखापत्र संस्थानका प्रकाशनहरू कोहलपुरबाटै प्रारम्भ गरिने बताए । उनले एक वर्षभित्र भवन निर्माण र छापाखाना ल्याएर पत्रिकाको संस्करण कोहलपुरबाटै सुरु गरिने जनाए । गोरखापत्र संस्थानले कोहलपुरमा छापाखानासहित अन्य पूर्वाधार निर्माणका लागि दुई वर्षअघि नै एक बिघा जग्गा खरिद गरिसकेको छ ।

मन्त्री बाँस्कोटाले बाँकेको नेपालगञ्जबाट सुरु गरिएको अप्टिकल फाइबर विछ्याउने कार्यको निरीक्षण गरे । डिजिटल नेपाल बनाउने सरकारी लक्ष्यअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेर अप्टिकल फाइबर बिछ्याउन सुरु गरेको र दुई वर्षभित्रै बिछ्याउने कार्य सक्ने गरी काम गर्न ठेकेदार कम्पनी र सरोकारवालाहरूलाई निर्देशन दिँदै उनले मुलुकलाई सञ्चार र प्रविधिमार्फत जोड्ने विश्वास व्यक्त गरे ।