संसदमा काँग्रेस सांसद : विषयवस्तु उठाउनै सक्दैनन

काठमाडौं – संसदभित्रको भूमिकामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस अत्यन्त कमजोर देखिएको गुनासो चौतर्फी आउन थालेपछि सभापति एवं संसदीयदलका नेता शेरबहादुर देउवाले चासो देखाएका छन् । देउवाले संसदीयदलका प्रमुख सचेतक वालकृष्ण खाँण र सचेतक पुष्पा भुसाललाई बोलाएरै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । संसदमा प्रमुख प्रतिपक्षीको भूमिका कसरी सशक्त बनाउने ? भन्ने सन्दर्भमा प्रमुख सचेतक खाँण र सचेतक भुसाल आन्तरिक छलफलमा जुटेका छन् । समाचारस्रोतका अनुसार छिट्टै संसदीयदलको बैठक बोलाएर छलफल गर्ने र त्यसपछि केही सांसदहरूलाई आवश्यक प्रशिक्षण समेत दिने तयारी भइरहेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई थप सक्रिय बनाएर सांसदहरूलाई प्रशिक्षण दिने तयारी भएको हो ।

प्रतिनिधिसामा कुल २ सय ७५ मध्ये काँग्रेससँग जम्मा ६३ जना सांसद छन् । संख्यात्मक हिसाबले पनि काँग्रेसको निकै कमजोर उपस्थिति हो यो । ६३ मध्येपनि ४० जना विभिन्न व्यापारिक कोटा, आरक्षण तथा चन्दा दिएर सांसद बनेकाहरू छन् । जसमध्ये अधिकांशलाई संसदको बैठकको अनुभव छैन, केहीलाई विषयवस्तुबारे ज्ञान छैन, केहीलाई आफ्नो व्यापार व्यवसायका कारण फुर्सद छैन । चन्दा दिएर सांसद बनेका व्यापारी तथा व्यवसायीहरूले आफ्नो व्यक्तिगत स्वार्थका विषयमा कुरा राख्नु प¥यो भने मात्रै संसदको बैठकमा जाने गरेको गुनासो प्रमुख सचेतक खाँणले सभापति देउवासँगको भेटघाटमा समेत गरेका थिए ।

प्रमुख प्रतिपक्षी पार्टी भएको र संख्या पनि थोरै भएकोले नेपाली काँग्रेसका सबै सांसदहरूले बोल्ने पालो पाउँछन् । तर, कुन विषयमा संसदमा छलफल हुँदैछ ? भन्ने हेक्का समेत नराखी नेपाली काँग्रेसका अधिकांश सांसदहरू बोल्छन्

प्रमुख प्रतिपक्षी पार्टी भएको र संख्या पनि थोरै भएकोले नेपाली काँग्रेसका सबै सांसदहरूले बोल्ने पालो पाउँछन् । तर, कुन विषयमा संसदमा छलफल हुँदैछ ? भन्ने हेक्का समेत नराखी नेपाली काँग्रेसका अधिकांश सांसदहरू बोल्छन् । ६३ मध्ये चन्दा दिएका कारण सांसद बन्नेहरू विनोद चौधरी, तेजुलाल चौधरी, उमेश श्रेष्ठ, दिव्यमणी राजभण्डारी लगायत छन् । यी चारै जना एउटा–एउटा विषयका विज्ञ समेत हुन् । वजेटबारेको छलफलमा विनोद चौधरीले बोल्दा मिडियाको ध्यान आकार्षित हुन्छ । तर, बजेट प्रस्तुत हुनासाथ सांसद चौधरी प्रमुख सचेतक खाँणलाई जानकारी समेत नदिई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण सामारोहमा भाग लिन दिल्ली गए । सांसद चौधरी भारतको निमन्त्रणामा सानका साथ दिल्ली पुगेर प्रधानमन्त्री मोदीसँग भेटघाट गर्दैगर्दा सभापति एवं संसदीयदलका नेता देउवाले भारतका विदेश मन्त्री नियुक्त भएकोमा एस जयसंशकरलाई औपचारिक बधाई सन्देश दिइरहेका थिए । यो घटनाले नेपाली काँग्रेस भित्र सभापति देउवाको हैसियत माथि हो कि ? सांसद चौधरीको हो ? भन्ने प्रश्न समेत उठेको छ ।

यसैगरी लामो समय उद्योग, व्यापार, पर्यटन र हवाई उड्यान क्षेत्रमा अनुभव बटुलेको भन्दै बजेट माथिको छलफलका क्रममा प्रमुख सचेतक खाँणले दिव्यमणी राजभण्डारीको नाम प्राथमिकतामा राखे । तर, उनले बजेट माथि कुनै टिप्पणी गरेनन् । आँफूले पाएको अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणको विषयमा खर्चिए । त्यो पनि प्रतिपक्षको धर्मअनुसार आलोचनात्मक शैलीमा नभएर चाकडीको भाषामा । उनले प्रधानमन्त्री ओलीको भ्रमणको सफलताको कामनासँगै भ्रमणका क्रममा बेलायतसँग ब्रिटिस गोर्खा सैनिकको विषयमा र फ्रान्स सरकारसँग बहुचर्चित नेपाल वायुसेवा निगमको वाइड बडी खरिद प्रकरणको विषयमा कुरा गर्न समेत सुझाव दिए ।

संसदीय अभ्यास, मान्यता र परम्पराअनुसार, देशको राष्ट्रप्रमुख वा सरकार प्रमुखको कुनै पनि औपचारिक विदेश भ्रमणको विषयमा त्यतिवेला मात्रै सदनभित्र छलफल र चर्चाको विषय बन्ने गर्दछ जब सम्बन्धित सरकारका प्रमुख वा निजको प्रतिनिधिले सभामुखसँग विशेष समय लिएर सदनलाई त्यसबारे औपचारिक जानकारी गराउँदछन् । यही विगतदेखि चल्दै आएको अभ्यास र परम्परा हो । त्यस मान्यताका आधारमा राजभण्डारीले मंगलबार सदनलाई औपचारिक जानकारी नै नभएको विषयमाथि बाहिर सञ्चारमाध्यममा आएकै समाचारका आधारमा बोलेर संसदीय परम्परा विपरित मात्र गएनन् बजेटमाथिको छलफलका लागि उनलाई उपलब्ध गराइएको महत्वपूर्ण समय समेत असम्बन्धित मुद्दाको चर्चाका लागि खेर फाले ।

केही साता अघि शिक्षा सम्बन्धी प्रि बजेट छलफलका क्रममा प्रमुख सचेतक खाँणले शिक्षा व्यावसायी उमेश श्रेष्ठको नाम पठाएका थिए । तर, श्रेष्ठले कानुनअनुसार अवकाश पूर्व भइसकेका शिक्षकहरूलाई निरन्तरता दिनु पर्ने विषयमा कुरा उठाए । यसैगरी सांसद प्रमिला राईले बजेटको पक्षमा कुरा राखिन् । उनले भनिन्– ‘बजेट सुन्दा र पढ्दा अत्यन्त सुन्दर र राम्रो छ तर, कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने आशंका छ ।’ यो सत्तारूढ दलका सांसदहरूले बोल्नु पर्ने भाषा थियो । जबकी केही दिन अघिको संसदीयदलको बैठकमा नेता डा.मीनेन्द्र रिजालले बजेटबारे बोल्दा दुई वटा कुरा नछुटाउन सांसदहरूलाई निर्देशन नै दिएका थिए । पहिलो थियो–‘सरकारले अघि सारेको वितरणमुखी बजेटले देशको दीर्घकालीन आर्थिक स्थितिलाई बलियो बनाउँदैन ।’ दोस्रो थियो– ‘वजेट संघीयताको मर्म विपरित छ ।’ तर समाुनपातिक मात्र होइन निर्वाचित सांसद तेजुलाल चौधरीले समेत डा. रिजालले घोकाएको कुरा संसदमा बोल्न बिर्से ।

२०४८ सालमै निर्वाचित सांसद भइसकेकी नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले समेत यस पटक संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेकी छैनन् । राजस्व संकलन सम्बन्धी सरकारले सदनमा पेश गरेको विधेयकको विरुद्धमा के के कुरा राख्ने ? भन्ने सन्दर्भमा पहिले नै सांसदहरूलाई घोकाइएको थियो । राजश्व संकलन सम्बन्धी सम्पूर्ण अधिकार अर्थमन्त्रालयबाट कटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा राख्ने प्रावधान भएकोले यो विधेयक फिर्ता गर्नुपर्ने भन्दै संसदमा कुरा राख्ने लाइन दिइएको थियो । तर, विधेयकमाथिको छलफलका क्रममा सांसद रेग्मीले पार्टीको उक्त लाइन चटक्कै बिर्सिँदै भनिन्–‘ढिलै भएपनि सरकारले राजस्व संकलन तथा सजाय सम्बन्धी विधेयक ल्याएर राम्रो गरेको छ ।’

यसैगरी दलित आरक्षणको कोटाबाट सांसद बनेका मीनबहादुर विश्वकर्मा पनि विषय वस्तुमा निकै कमजोर मानिएका छन् । उनले संसदमा बोल्दै गर्दा धेरै जसो सत्ताको चाकडीमा कुरा राख्ने गरेकोले आफूहरूको शिर निहुरिएको भन्दै पाका पुराना सांसदहरूले गुनासो गरेपछि प्रमुख सचेतक खाँणले विश्वकर्मालाई सम्झाउने प्रयास गरेका थिए । तर ‘ दलित भनेर हेपेको?’ भन्दै विश्वकर्मा उल्टै जाइलागेपछि खाँणले वास्ता गर्न छाडेको समाचार स्रोतले जनाएको छ । संख्या थोरै भए पनि प्रदीप गिरी जस्ता कुशल वक्ताले नेपाली काँग्रेसबाट चुनाव जितेका छन् तर उनी संसदमा कमै मात्र उपस्थित हुन्छन् । उपस्थित भएको वेलामा भने जमेर बोल्छन् ।

तर, उनी प्रधानमन्त्री ओलीको आलोचना हतपत गर्दैनन् । वक्तृत्व क्षमता धेरै नै कमजोर भए पनि सभापति देउवाले बोलेको कुरा मिडियाले चर्चामा ल्याउँछन्, प्राथमिकताका साथ समाचार बनाउँछन् । तर, देउवा पनि संसदमा खासै जाँदैनन् । महामन्त्री डा. सशांक कोइराला कहीले काँही जान्छन् तर बोल्दैनन् । प्रभावशाली नेत्री सुजाता कोइराला स्वास्थ्यका कारण बैठकमा कमै जान्छिन् । चित्रलेखा यादव वक्तृत्व क्षमता भएकी नेतृ हुन् तर सभापति देउवासँगको गम्भीर असन्तुष्टिका कारण उनी संसदमा मात्रै होइन संसद बाहिर पनि बोल्न छाडेकी छिन् ।