खासगरी अध्यक्षद्वय ओली र दाहालबीच सत्ता संघर्ष सुरु भएको विषय र अलपत्र परेको पार्टी एकताको बाँकी काम पूरा गर्नेबारे उनीहरुबीच आइतबार बालुवाटारमा छलफल भएको छ ।
काठमाडौँ – अनेक विषयका आन्तरिक विवाद एकपछि अर्कोगरी सार्वजनिक हुन थालेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष तीन नेता केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छलफलमा जुटेका छन्।
तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तीन शीर्ष नेताहरुले सोमबार आव्हान गरिएको सचिवालय बैठकका एजेण्डा तय गर्ने सम्बन्धमा छलफल गरेको बताए ।
पूर्व एमाले र माओवादीबीच एकता भई सबैभन्दा ठूलो पार्टी बनेको नेकपामा एक वर्ष बितिसक्दा पनि एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।
एकता बेला ओली र आफूले आलोपालो सत्ताको नेतृत्व गर्ने सहमति भएको दाहालले फेरिसार्वजनिक गरेपछि उनीहरुबीच बुझिने गरी मत विभाजित भएको थियो।
जेठ १५ गते गणतन्त्र दिवसका दिन एक टेलिभिजनको अन्तवार्तामार्फत दाहालले पार्टी एकताका बेला ओलीसँग सत्ताको नेतृत्व आलोपालो गर्ने सहमति भएको र सहमतिबाट पछि हटेमा कोही पनि नटिक्ने बताएका थिए।
त्यसको जवाफमा उक्त सहमतिबारे अहिले आफूले केही नबोल्ने बताएका ओलीले दाहाललाई लक्षित गर्दै पार्टी एकतालाई खल्बलाउने काम हुन थालेको बताएका थिए।
सार्वजनिकरुपमा एकअर्कालाई घुमाउरो पारामा दुई दिनसम्म कटाक्ष गरेका ओली र दाहालबीचको भेटमा सामेल भएका नेपालले पार्टी एकताबारे भइरहेको बिलम्बको प्रसंग निकालेको बुझिएको छ।