नेपालगन्ज,१८ माघ ।
मध्यपश्चिम छेत्रमा सडक दुर्घटनामा परी गएको छ महिनामा एक सय सोह्र जनाको मृत्यु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले दिएको पछिल्लो जानकारी अनुशार सडक दुर्घटनामा परी दुई सय तीस जना घाइते भएका छन् ।
आर्थिक बर्ष २०७२÷७३ को श्राबन महिनामा नौ जना , भदौमा सात जना , असोजमा २३जना , कात्तिकमा २२ जना , मङ्सिरमा २५ जना र पुसमा २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । सडक दुर्घटनामा मृत्यु हुनेमा पुरुषको सङ्ख्या बढी छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक विस्तारसँगै मुख्य रुपमा चालकको लापर्बाहीले गर्दा नै सडक दुर्घटना हुने गरेको छ । चालकले मापसे गरेर सवारी साधन चलाउने र धेरैजसो चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यस्तै ठूलाभन्दा साना सवारी साधन बढी दुर्घटना परेका छन् ।