बेल्जियमकी कलिली नेपाली गुरुआमा , डिल्लीराम अंमाई, बेल्जियम

१८ सेप्टेम्बर,२०१६
नेपालीपनको मन्द मुस्कान, आफुले पढाएका बच्चाहरुलाई चियाइ रहेका आँखा, अनुहारमा अलिकति संकोच । कुनै जिम्मेवारीले थिचिएर होला अलिक बढीनै छट्पटाहट थियो उनको हाउभाउमा । उनी मंचमा नबोलाइन्ज्याल प्रत्येक् मिनेट आफु बसेको कुर्ची परिबर्तन गर्थिन र आफु कहाँ बसेकी छु शायद उनैलाई थाह हुन्थेन । उनी कुनै कामको तयारी स्वरुप बच्चाहरुलाई आफ्नै पाराले सम्झाउदै छिन भन्ने जो कोहिलाई पनि महसुस हुन्थ्यो । उनको हाउभाउ सँगसँगै मुहारले पनि त्यही बोलिरहेको थियो । उनी अर्थात् भुराहरुकी सोफिया म्याडम । उनी अर्थात् अरुका बच्चाहरुलाई नेपाली भाषाको शिक्षा दिएर रमाइ रहने, बाध्यताले प्रबास मिल्क्याइएकी नेपालकी छोरी । उनी अर्थात् छुट्टीमा परिवार र साथीसँग रमाउनुको साटो हाम्रो भाषा र लिपी नभुलौ भनेर बेल्जियम मै जन्मेका नानी बाबुहरुको सिगान पुछ्दै कपुरी क , ठुलो ख सिकाउने उमेरले भर्खर तिस लागेको बेतलबी सानी गुरुआमा । अर्थात निशुल्क सैक्षिक दान-दाता सोफिया महर्जन कार्की ।

लामो बाउला भएको कलेजी रङको पलास जस्तो देखिने कुर्तासुरुवाल त्यसमाथि हल्का पहेलो रङको सल र पछाडि लगेर चुपुक्क बाँधेको कपाल । यस्तो लाग्थ्यो कि सोफिया म्याडम आज पनि गाउँगाउँबाट साना साना केटाकेटी बटुलेर बिद्या बाड्दै हिँड्ने शिक्षाबाट बंचितहरुकी ज्योति हुन् । बिदेशी ब्याक्तिबादी जिबनसैली, पारिवारिक प्रेमका रङ्गिला समयहरु र हप्ताअन्तका काफे बारका फिका टोस्ट प्रस्तवहरु बहिष्कार गरेर मलमुत्र आँफै स्याहार्न नसक्ने कलीला उनैको भाषामा भन्नु पर्दा ‘मेरा’ बच्चाहरुलाई आफ्नी आमाले सिकाएको लिपी हस्तान्तरण गर्नु भित्र उनको कती महान लक्ष छ कसैले अनुमान गर्न सक्ला ?
उनले भाषाको कारणले नेपाल जान नमान्ने बाल मनोबिज्ञानलाई तोड्न मात्र २०१० बाट भाषाकक्षा सुरु गरेकी हुन । जसले नेपालमा भएका बच्चाहरुका आफन्त, समाज र अन्तमा मुलुकसँग नै लगाब र संपर्क मजबुद बनाउने तर्कलाई अन्यथा मान्न सकिदैन । त्यसैले उनी गुरुआमा मात्र नभै मातृभूमी र भाषा आन्दोलनकी क्रान्तिकारी हिस्सेदार पनि हुन् । भोली उनकै कारण प्रवासमै हराउन सक्ने सयौ नयाँ पुस्ताले आफ्नो मुलुक, घर र आफन्तहरु खोज्न कुनै दोभासेको जरुरत पर्ने छैन ।

काठको टेबुलमाथि रहेको प्लास्टिकको गिलासमा ‘ पानी’ जस्तो देखिने पेय पदार्थ उचाल्दै उनले म,एन आर एन सचिब अर्जुनजी,अनेसासका अध्यक्ष दिपक ज्योति, माधव सापकोटा र नन्दु घलेलाई संयुक्त रुपमा नमस्कार गरिन । मैले उनको मुस्कानमा एउटा अजीव विम्ब लुकेको देखेँ । त्यो बिम्ब भित्र आँखाको नानी जस्तै अस्थिर आशा सहितको खोज । उनले लिएको लक्षलाई एकछिन उनैको परेला भित्र लुकाइ दिएँ र सोचेँ,”बिरानो ठाउँमा पुगेर पनि केही खोजिरहेजस्तो कुन प्यास हुँदो हो उनका आँखाहरुको र कसको लागि के खोजिरहँदा हुन ति नानीहरुले अबिराम ?”

यो पंक्तिकारले झोलाबाट कागज निकालेर उनको हाउभाउ र अन्तर्मनको उकुस्मुकुसलाई मनै मन महसुस गर्दै शब्दहरू थुपार्दै थियो उनी बच्चाहरुको गतिबिधी, प्रस्तुती र प्रतिकृयासँग गिजोलीइरहेकी थिइन । अभिवादन भुइँमा खस्न नपाउँदै पंक्तिकारले आँफै प्रश्नहरु बनाउदै उनको हाउभाउबाट आँफै उत्तर दिदै गयो,उनलाई कुनै प्रश्न गरेन किनकी प्रश्न सोधेर दिएको उत्तरमा बनावटिपनको शाब्दिक कालिगढी बढी हुने गर्दछ । तसर्थ मैले उनको मनोदशा, हाउभाउ र उनको बिगतको कर्मले धेरै उत्तर दिइरहेको थियो । तै पनि १७ सेप्टेम्बरमा साहित्यिक समाज बेल्जियमले मोतिराम भट्टको जन्म जयन्तीको साइत जुराएको दिन । सोफिया पनि आफ्ना चेला-चेलीसँग कबिता लेखन र बाचनको लागि तयार भएर आएकोले केही आँफै गर्नेछिन ,केही गराउने छिन् र त्यो बारे केही बोल्नेछीन भनेर मैले कागजमा कलम कुदाइ रहेको थिएँ । एउटी सैक्षिक लडाकुको बारेमा ‘फिचर’ तयार पार्दा ‘गज्जब’ होला भनेर म पनि उत्सुक थिएँ ।

‘सानै उमेरदेखि परोपकारी भावना जाग्थ्यो ,समाज सेवामा छुट्टै आनन्द छ जस्तो लाग्दथ्यो, मौका मिलेको थिएन समाज सेवाको उचित अवसर तर बेल्जियम आएपछी २०१० बाट नेपाली भाषा कक्षा थालेकी हुँँ, अझै थाकेकी छैन,’ सोफियाले विगतका यादको पोयाँ फुकाउन थालिन् । ‘जीवनको यात्रामा जीवनको उमेर ३० पुगिसक्यो । तर म आफूलाई अघिको अनुपातमा झैँ गतिशील भै रहनु पर्छ भन्ने ठान्छु, आज कबिताको नामै नसुनेका बच्चाहरुलाई नेपालीमा कबिता लेख्न र बोल्न तयार गरेर आएँ,’ उनले दुवै आँखा चिम्लेर केही गहिरो सोचाइको भावमा मजाकिलो मुद्रा प्रस्तुत गर्दै भन्दै गइन, ‘जीवन भन्नु नै जेमा आनन्द लियो त्यही रहेछ मेरा लागि, कसैको निरास भबिस्य र नेपाल सम्झन नखोज्ने बाल सुस्कतामा नेपालका हिमालले लोभ्याएर ,मुलुककै झरनाले पखालेर, नेपाली भाषाले सुसज्जित गराउँदै नेपालको मात्रै सपना देख्ने बनाउनु असजिलो तर हाम्रो पुस्ताले कर्तब्य सम्झेर गर्नुपर्ने कर्म हो। परिवर्तनको भाषण गर्दै हिँडेर भोका, नांगाकै गीत गाएर मात्र मुलुकको रिण तिरिंदैन ।’
अनेसास बेल्जियमले आयोजना गरेको मोती जयन्तिमा उनका चेला चेलीहरुले सामुहिक रुपमा भाका हालेर कबिता गाई रहँदा केटाकेटी हुन् वा बुढापाका र युवायुवती सबै ‘नोस्टाल्जिया’ मा केन्द्रित हुन थाले । कोही जुरुक्कै उठेर ताली पिटे भने कोही उनी संगै भाकामा भाका छोपेर गाउँने प्रयास थाले । कतिपय मानिसले बच्चाहरुको जिबन्त प्रतिभाको सन्दर्भमा कुराकानी गर्न थाले । जसले जीवन र सेवाको अर्थ बुझेका थिए, देश प्रेम र भावनात्मक सम्बन्ध बुझेका थिए, ती भुराहरुकी गुरुमाताको बालक प्रतिको कर्तब्य र बालकहरुले प्राप्त गरेको पित्री भुमीसँगको भावनात्मक सम्बन्ध सम्झेर भक्कानिए ।

” नेपाल जानेसँग २ किलोको दरले अरुले फालेका कपडा बटुलेर नेपालका दुर्गम् बस्तिहरुमा बाडियो, नेपालीहरु घर जाँदा सयौ किलो कपडा नेपाल पुर्याइदिनु भयो सोफिया र सच्चा त्यसको लागि आभारी छौं । ” उनले भनेकी थिइन , ” कपडा उठाउन मनकारीका घरघर पुग्छौं , जाडोमा आङ ढाक्न नपाएर दुर्गममा बच्चाहरु निमोनिया चिसोले अकालमा मरी रहेछन ।” परिवर्तनशील समयसँगै उनका सैयौ सहपाठी, सहकर्मी र सहचर्या पनि बदलिए । तर उनको सोच र विचारहरू भने बदलिएनन् । उनको मन भित्रबाट परोपकारको चित्र कहिल्यै मेटिएन ।
मानिस भन्छन्, ‘सोच र मनमा कुनै तालमेल छैन । केवल आनन्द मात्र छ ।’ तर उनको सोच र मनमा ताल्मेल छ । मन भित्र मानबताको सञ्जिवनी मस्तिस्कमा बोधिसत्व बनेर उनको जिबनलाई निर्देशित गरीरहेको छ । उनको जाँगरले डोल्पाका निमुखाको लागि कपडा पनि बटुलेकै छ र नेपाली लिपी जान्दै नजानेका र सुन्दै नसुनेका बालबालिकालाई नेपाली लिपी पनि सिकाएकै छ ।

नबदलिएको रुचिमा आजभन्दा ७ वर्ष अगाडि उनी जस्ती थिइन, आज पनि उस्तै छिन् । उनका सपनाको गाम्भीर्यता हिजोभन्दा आज झन् व्यापक बनेका छन् । उनको स्कुलमा कोही जाउन नजाउन उनी पुगेकै हुन्छिन । हरेक समय बाल्बालिकाहरुको अवस्थाको सुचना लिएकै हुन्छिन । नेपाल देख्दै नदेखेका बाल्बालिकाले अचेल बर्खे बिदामा नेपाल जाने भनेर अबिभावकहरुलाई घुम्नु पर्ने स्थानको तालिका नेपाली मै लेखेर उपलब्ध गराउन थालेको कुरा कार्यक्रममा उपस्थितबाटै जानकारी भयो । किशोर किशोरिहरुको सोच बदल्ने कार्य नेपाली भाषा सिकाइको नै उपलब्धी मान्नु पर्छ ।

बेल्जियममा धेरै मानिस बिभिन्न संघ संस्थाका नेता बने । कोही जातीय समाज, सामाजिक सङ्संस्थाका सदस्य बने, कोही अनेक रङका राजनैतिक् कोटरिहरु । सरकारको विभिन्न ओहदाका सेवारत ब्यक्तित्व आउँदा घेरा हालेर अन्त डुलाइयो,डुलाइदै छ, तर यती महान कार्यको बारेमा कहीकतै कोहिबाट चर्चा भए जस्तो लाग्दैन । नेपाली राज दुतावासले पनि यो कार्य प्रती चासो राख्नु पर्ने हो , पाढ्यक्रम बिकास र नयाँ योजनाको लागि एकबध्दता जनाउनु पर्ने हो तर त्यस्तो व्यवहार कहिल्यै गरेन । किनभने सोफिया कुनै नेताको काकरी गर्न जान्दिनन र आफ्नो सचेतन कर्तब्य बाहेक उनलाई सस्तो लोकप्रियता चाहिएको छैन । भाषिक ज्ञानको हिसाबले ति बाल्बालिका बलियो हुनु भनेको पक्कै पनि नेपालमा उनिहरुले आर्जन गरेको सिप पोखिनु हो प्रयटन बढ्नु हो र मुलुक प्रतिको लगाव र मायाको गाठो कसिनु हो । सोफिया र सच्चाले सुरु गरेको यो सैक्षिक अभियान नामको मात्र ब्यापार होइन, यो चेतना र भावनाको बिस्तार पनि हो ।…………

सोफियालाई बेल्जियमको नेपाली समाजका अगुवा हुँँ भन्नेहरुले राम्रोसँग चिनेका छन तर नचिनेजस्तो गरेका छन । देखेका छन तर नदेखेजस्तो गरेका छन । अहिलेसम्म २०१० बाट सुरु गरेको भाषा कक्षा कती संघसंस्थाका प्रतिनिधिले अनुगमन गरे होलान वा सहयोगको लागि हात अगाडि बढाए होलान ? तथ्य लाजमर्दो छ । सम्मानको त कुरै छोडौ । हुन त चाकडीबाज अनि भनसुनमा भन्दा कर्मको इमानदारितामा विश्वास गर्ने सोफिया र सच्चाहरुसँग तिनको तुलना हुनै सक्दैन । ‘बेल्जियममा भएर पनि हाम्रो समाज गुणात्मक स्वरुप फेरिएको छैन । राजनैतिक घटनाक्रमको पारीबेस फेरिए पनि यहाँको सामाजिक आधार मूलतः नयाँ पिढिको परिबर्तित चिन्तन परिवर्तनको पक्षमा रुचिकर छैन । यस्तो सामाजिक आधार भित्र सोफिया भेट्टाउनु हाम्रो भाग्य हो ‘ सचेत ढंगको गुनासो गर्दै एक अबिभावक थप्छन्, ‘यी अचेत मानिसले सचेत चेतनाको भाका बुझ्दैनन् । यदि बुझ्दा हुन् त आन्त्वोर्पेनबाट सुरु भएको यो महायात्रा ब्रसेल्स, लुभेन लगायत नेपालीको बस्ती बिस्तार भएको ठाउमा अहिलेसम्म पुगी सक्थ्यो । ‘
उनी आफ्नै रफ्तारमा बोल्दै थिइन,मैले उनको मनको सुकिलो पारदर्शी आँखाबाट छर्लङै बुझेँ र छ बर्शे अनुभबको बिशम समिक्षा उनको निधारबाट देखेँ । मैले धेरै तर्कहरु ल्याएर चम्की रहेको पोटिलो पुंजलाई खुम्च्याउन चाहिन । अन्त्यमा सभापति दिपक ज्योति पौडेलले मोती जयन्तिको अन्त्यस्टी गर्न थाले । मैले मेरै प्र्श्नले मलाई नै गिज्याउला भन्ने डरले कापी कलम झोलामा खादें ।